स्थानीय तहको निर्वाचन मिति तोक्नैपर्ने दबाबमा सरकार - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

स्थानीय तहको निर्वाचन मिति तोक्नैपर्ने दबाबमा सरकार


काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।

बैठकपछि समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल गरिएको बताए उनले स्थानीय तहको चुनावलाई समयमै सम्पन्न गर्ने विषयमा छलफल केन्द्रीत भएको बताए । मिति घोषणा गर्नेबारे भने निर्वाचन आयोगसँग फेरि परामर्श गरिने उनको भनाइ छ ।
निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए । समितिको अर्को बैठकबाट स्थानीय तहको चुनावको मिति तय गर्ने तयारी छ ।

यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो भने स्थानीय तहमा प्रतिनिधि रिक्त हुन नदिने गरी निर्वाचन गर्ने हो भने माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्नुपर्ने निर्वाचन आयोगले भनेको छ । यही बेला मंगलबार बसेको गठबन्धनको बैठकले निर्धारित मितिमै निर्वाचन गर्न सहमत भएको हो ।

बैठकमा माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनबारे पनि छलफल भएको छ । रिक्त १९ पदमा सत्तागठबन्धनले भागबन्डा गरी उम्मेदवार उठाएका छन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरू उपस्थित थिए ।

आयोगले पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ । निर्वाचनको अन्तिम तयारीमा रहेको आयोगले कोरोना संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्ने विषयमा आवश्यक सबै खालका तयारी गरेको जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशैभर २ हजार २२५ जना मतदाता रहेको आयोगले जनाएको छ ।