जनार्दन शर्माको राजनीतिक उचाइ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

जनार्दन शर्माको राजनीतिक उचाइ


रुकुममा कम्युनिस्ट पार्टीको संस्थापक मध्यका स्कन्द शर्माका जेठा छोरा हुन् जनार्दन शर्मा । बुवाकै प्रेरणाले गर्दा राजनीतिमा लागेका उनले १४ वर्षकै उमेरमा पार्टी सदस्य लिएका थिए । २०३४ सालदेखि नै राजनीतिमा लागेका जनार्दनको राजनीतिक जीवनमा चरम उतारचढाव आएका छन् ।

२०३६ सालमा जनार्दन रुकुमको सिम्रुतु स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक भए, कम्युनिस्ट पार्टीको सदस्यता लिएको थाहा पाएपछि तत्कालिन पञ्चहरुले अनेक दुःख दिंदा बाध्यतावश उनले त्यहाँको जागिर छाडे । २०३७ सालमा रुकुमको प्राथमिक विद्यालय साक्चामा शिक्षक भए । २०३८ सालमा तरकारी बीउ उत्पादन केन्द्र चापा रुकुममा प्राविधिक सहायक भए । फेरि पनि पञ्चहरुले दुःख दिन थालेपछि राजीनामा दिएर पूर्णकालीन रुपमा राजनीतिमा होमिए ।

जागिरे जीवन परित्याग गरेर पूर्णकालीन कार्यकर्ता भएपछि उनी २०३८ सालमा नेकपा चौमको रुकुम जिल्ला सदस्य भएका थिए । उनी २०४६ सालमा चेतनामुलक साँस्कृतिक कार्यक्रममा नाचे गाएकै आधारमा शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमा थुनिएका पनि थिए । २०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट रुकुममा उम्मेदवार भए पनि नेपाली कांग्रेसका नेता गोपाल जि जंग शाहसँग थोरै मतले पराजित भएका थिए ।

पछि उनी २०५० सालमा पार्टीको दाङ जिल्ला सेक्रेटरी भए । २०५२ सालमा सशस्त्र संघर्ष सुरु भएपछि उनी पनि भूमिगत भए । ‘दीर्घकालीन जनयुद्धमा मार्फत सामन्तवादको अन्त्य हुन्छ’ भन्दै तत्कालीन नेतृत्वलाई सशस्त्र संघर्षमा जान दबाब दिने नेतामध्ये उनी पनि थिए ।

युद्धको बेला उनको कार्यक्षेत्र प्रायः मध्यपश्चिम र सुदूरपश्चिम थियो । २०५६ सालमा केन्द्रीय सदस्य भएका जनार्दन २०५७ सालमा पोलिटब्यूरो तथा सेती–महाकाली क्षेत्रीय ब्यूरो इन्चार्ज र कमिसार भए । सशस्त्र युद्धको अन्तिम समयतिर उनी पश्चिमाअञ्चल क्षेत्रमा सक्रिय थिए ।

जनार्दन २०६० सालमा जनमुक्ति सेनाको डिभिजन कमाण्डर भए भने २०६१ सालमा डेपुटी कमाण्डर । युद्धकालमा सबैजसो मोर्चामा फिल्डमै खटेर अत्यन्तै साहस र उच्च मनोबलका साथ कमाण्डिङ गरेका जनार्दनको नेतृत्वमा भएको पिली (कालिकोट) आक्रमणले माओवादीको संभावित ठूलो सैन्य क्षयीकरण जोगाइदिएको थियो । जतिबेला माओवादीले युद्धमा एकपछि अर्को धक्का व्यहोरिरहेको थियो । उनको सफल नेतृत्वले माओवादीमा जनमुक्ति सेनाको गौरव झन् बढेको थियो ।

माओवादी शान्ति प्रक्रियामा आउँदा उनी ‘जनमुक्ति सेना’को डेपुटी कमाण्डर हुनुका साथै पार्टी पोलिटब्यूरो सदस्य थिए । जनयुुद्धकालमा सैन्य र राजनीतिक दुवै फाँटमा प्रभावशाली रहेका जनार्दन शान्ति प्रक्रियामा आएको केही समयपछि पुनःस्थापित संसदको सदस्य भए ।

पहिलो संविधानसभा निर्वाचनमा जनार्दन रुकुम क्षेत्र नं. २ बाट विजयी भए । त्यतिबेला उनी माओवादी लडाकूको डेपुटी कमाण्डरका साथै सेना समायोजन विशेष समितिका सदस्य पनि थिए । माओवादी अध्यक्ष प्रचण्ड पहिलोपटक २०६५ सालमा प्रधानमन्त्री हुँदा उनी शान्ति तथा पुननिर्माणमन्त्री भएर सिंहदरबार छिरे । दोस्रो संविधानसभा निर्वाचनबाट त्यहीँ क्षेत्रबाट निर्वाचित भएपछि सार्वजनिक लेखा समितिको सभापति भए ।

प्रचण्ड दोस्रो पटक २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी उर्जामन्त्री भए । उनको उक्त कार्यकाललाई निकै सफल मानिन्छ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेपछि दैनिक १७/१८ घण्टाको लोडसेडिङ अन्त्य भएको थियो । यही कामले उनको राजनीतिक उचाइ बढ्यो ।

त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनले गृहमन्त्रीको जिम्मेवारी पाए । तर, उर्जामन्त्री हुँदाजस्तो उल्लेख्य काम गर्न नसकेको बताईन्छ । त्यो बेला उनले ८४ बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए, तर कार्यान्वयनको गर्न पाएनन् । उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रुकुम पश्चिमबाट फेरि विजयी भए । अहिले सरकारको अर्थ मन्त्रालय सम्हालेका छन् ।

जिल्लामा एकछत्र राज

आफ्नो गृहजिल्ला रुकुम पश्चिममा जनार्दनले माओवादी केन्द्रलाई एकछत्र विजयी गराएका छन् । रुकुमका ६ ओटै स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्रमा माओवादीकै नेतृत्वको जीत छ । पार्टीमा रुकुममा उनलाई टक्कर दिने नेता नभएका हैनन् । तर, लोकेन्द्र विष्ट र हेमन्तप्रकाश ओली जस्ता नेतालाई उनकै चलाखीपनले पार्टीमा हेपाइ भएको भन्दै दुवै जना माओवादी केन्द्रमा छैनन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । एमालेसँग चुनावी तालमेल र पछि पार्टी एकताका लागि भएको वार्तामा प्रमुख रुपमा उनी नै खटिएका थिए । त्यही कारण एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुबैको निकट भएर काम गरेका थिए ।

उनीमाथीका आरोप

माओवादी राजनीतिमा उनको सम्पूर्ण परिवार होमियो । बिभिन्न जिम्मेवारी पाएका उनका आफन्तको योगदानको अवमूल्यन गरेर आज उनीमाथी परिवार र नातागोतामा मोह देखाएको आरोप लाग्ने गरेको छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जनार्दन पश्चिम रुकुममा वाम गठबन्धनबाट उम्मेदवार बन्दा कान्छा भाइ अनिल काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए । कान्छा भाई अनिल र बहिनी नारायणी अहिले पार्टीको केन्द्रीय सदस्य बनेका छन् । माइलो भाइ उपेन्द्र पनि राष्ट्रिय समाचार समितिको महाप्रवन्धक भइसकेका छन् ।

माओवादी लडाकु शिविर व्यवस्थापन, भत्ता, भरणपोषण खर्चका विषयमा पनि उनीमाथी बेला बेला प्रश्न उठ्दै आएका छन् । त्यसबाहेक ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी सीजीजीसीलाई दिने सम्बन्धमा गरेको सम्झौताका बारेमा प्रश्न उठ्ने गरेपनि यी विषयमा उनले आफ्नो प्रष्टीकरण दिइसकेका छन् । कुनै विवाद नभएको उनले दाबी गर्दै आएका छन् । 

कामका भोका छन्

जनार्दन क्रमिक टीम निर्माणमा अब्बल छन् । आफ्नो टीमको संरक्षण गर्नमा कुनै पनि मूल्य चुकाउन तयार रहने जनार्दन निरन्तर प्रभाव क्षेत्रको बिस्तारमा तत्पर रहन्छन् । आफुलाई सँधै शक्तिकेन्द्रमा राख्न कस्सिने र सफल हुने उनी प्राप्ती झुकेर होइन लडेर भए नि लिनुपर्ने भन्ने अडानमा रहन्छन् । उनी हरेक बिषयमा स्वतन्त्र दृष्टीकोण राख्न खोज्छन् अनि हरपल लोकप्रियताको खोजी गर्छन् । सँधै जोशिलो देखिने जनार्दन पाएको जिम्मेवारी फत्ते गर्न हरसम्भव प्रयास गर्छन । उनी कामको भोको हुन् भनेर अन्य पार्टीका नेताहरु समेत प्रशंसा गर्छन् ।

माओवादी केन्द्रले भदौ ६ मा केन्द्रीय विभागहरुको नेतृत्व टुङ्ग्याउँदा संगठन विभागको जिम्मा पाएका जनार्दन अहिले पार्टीको महासचिवको दावेदार छन् । पार्टीकै भावी नेतृत्वको रुपमा हेरिएका जनार्दन वैचारिक रुपमा अझ खारिन आवश्यक रहेको बताईन्छ । छिट्टै रिसाउने र आक्रामक स्वभाव रहेको भन्दै पार्टीकै अन्य नेताका समर्थकमाथि ‘वैरभाव’ राख्ने गरेको आरोप उनी माथी लाग्ने गरेको छ ।

 

"