एउटा सभाले पास गरेको विधेयक अर्को सभाबाट पास नहुँदा समस्या - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

एउटा सभाले पास गरेको विधेयक अर्को सभाबाट पास नहुँदा समस्या


काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले ल्याएका विधेयकलाई संसदले समयमै पास गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको तीन वर्ष पुरा भएको अवसरमा आयोजित राष्ट्रिय सभाको प्रभावकारिता तथा कूटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संसदले समयमा कानुन नबनाउँदा सरकारको काम प्रभावित हुने बताए ।

‘संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले पास नगरी कानून बन्दैन’,उनले भने, ‘लामो छलफल गरेर एउटा सभाले पास गरेको विधेयक अर्को सभाबाट पास नहुँदा समस्या भएको छ। संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५ यसको एक उदाहरण हो ।’

अध्यक्ष तिमिल्सिनाले एउटा उद्देश्यका साथ सरकारले ल्याएका विधेयकलाई सरकार परिवर्तन हुने अवस्थासम्म पनि कानुनको रुप दिन नसक्दा यसले सदनको सक्षमता माथि प्रश्न उठाउने धारणा राखे ।

राष्ट्रिय सभाले तीन वर्षसम्म गरेका काम बारे जानकारी दिँदै उनले सातौं अधिवेशनसम्म राष्ट्रिय सभाको २२२ वटा बैठक बसेको बताए । तिमिल्सिनाले भने, ‘यस अवधिमा सभामा ४१ वटा विधेयकहरू दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेका, २४ वटा मध्ये आठवटा सभामा विचाराधीन रहेका छन्।’

त्यसैगरी १० वटा विधेयक समितिमा विचाराधीन रहेका र छवटा विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाबाट फिर्ता आउन बाँकी रहेका जानकारी अध्यक्ष तिमिल्सिनाले दिए ।

सभाले यसअवधिमा तीनवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, चारवटा ध्यानाकर्षणको प्रस्ताव र एकवटा संकल्प प्रस्तावहरू दर्ता भइ सो उपर छलफल गरेको उनले जानकारी दिए । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले संसदले दिएका निर्देशन सरकारले कार्यान्वयन कार्यन्वयन गर्नुपर्ने र कार्यन्वयन भए नभएको समेत संसदलाई जानकारी गराउनुपर्ने बताए ।

तीन वर्षसम्म राष्ट्रिय सभा बिना अवरोध सञ्चालन भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा थप प्रभावकारी बनाउन सभासँगै समिति तथा कर्मचारीको क्रियाशिलता बढाउनुपर्ने धारणा राखे ।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालले राष्ट्रिय सभाले तीन वर्षमा आफ्नो महत्व र प्रभावकारिता देखाउन सकेकोमा खुसी व्यक्त गरिन् ।

उनले संसदले बनाएका कानून मुलुक र जनताको हितमा कार्यन्वयनको भएको छ वा छैन भन्ने अनुगमन गर्नुपर्ने बताइन् । राष्ट्रिय सभाका सदस्य तथा सचिवालयका कर्मचारी उपस्थित अभिमुखिकरण कार्यक्रममा कानुन आयोगका अध्यक्ष माधव पौडेलले राष्ट्रिय सभाको औचित्य र उपलब्धी बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।