समयमै सबै निर्वाचन गर्न राष्ट्रपतिको सुझाव - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

समयमै सबै निर्वाचन गर्न राष्ट्रपतिको सुझाव


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

उनीहरुबीच झण्डै एक घण्टा भएको भेटवार्तामा कोरोना संक्रमण, स्थानीय तहको चुनावलगायत समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ । स्थानीय तहको निर्वाचन बैशाखबाट पर सार्ने विषयमा सत्तारुढ गठबन्धनमा छलफल भइरहेका बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन् ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्नुपर्ने बताएकी छन् । ‘संविधानको भावनाबमोजिम समयमै स्थानीय निर्वाचन गर्नुपर्छ । अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्छ,’ भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भनिन् । जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे सबै दलहरुसँग परामर्श भइरहेको बताएका थिए ।