विप्लव समूहमाथि लागेको प्रतिबन्ध फुकुवा, गृहद्वारा सर्कुलर जारी - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

विप्लव समूहमाथि लागेको प्रतिबन्ध फुकुवा, गृहद्वारा सर्कुलर जारी


काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधि गर्न बन्देज गर्ने गरी लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहसँग भएको सहमति अनुसार नै प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबिच भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गरेको  हो । बैठकले सरकारी पक्ष र विप्लव समूहबिच भएको तीन बुँदे सहमतिलाई पनि अनुमोदन गरेको गरेको छ ।

यस्तै सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

२७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।