सहकारी संस्थाहरु तरलता व्यवस्थापनमा गम्भीर बन्नुपर्ने - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

सहकारी संस्थाहरु तरलता व्यवस्थापनमा गम्भीर बन्नुपर्ने


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता प्रमुख चुनौतीको विषय बनिरहेको बेला सहकारी संस्थामा तरलता व्यवस्थापनमा गम्भीर बन्नुपर्ने अवस्था आएको सहकारी अभियन्ताहरुले बताएका छन् । बैंकहरुमा जस्तै सहकारीमा पनि तरलता अभाव हुन नदिन सोही अनुसारको कदम चाल्नुपर्ने आवश्यक्ता देखिएको हो ।

समयमा कर्जा असुली नहुँदा सहकारी संस्थाहरुमा तरलता संकट देखिनुमा पहिलो समस्या भनेको समयमा कर्जा असुली नहुनु र सहकारीका सदस्यहरु नै आर्थिक संकटमा फस्नु रहेकाले यसतर्फ सोही अनुसारको रणनीति तयार पार्नुपर्ने बचत तथा ऋण जिल्ला सहकारी संघ लिमिटेड इलामका अध्यक्ष लिला थापाको सुझाव छ ।

थापाका अनुसार सन्दर्भ व्याजदर निर्धारण समितिले सहकारीलाई लगाएको अंकुशले पनि सहकारीहरु तरलता संकटको मारमा पर्नसक्ने भएकाले सोतर्फ ध्यान दिनुपर्छ । कोरोनाको महामारीका कारण कर्जा असुलीमा समस्या हुने भएकाले तरलताको अभाव हुनसक्ने अभियन्ताहरुको भनाइ छ ।

वित्तीय बजारमा देखिएको तरलता सङ्कटले सहकारीलाई समेत नराम्ररी असर गरेपछि यसबाट मुक्ति पाउनका लागि सन्दर्भ ब्याजदर बढाउनु पर्छ भनेर सञ्चालकहरूले उठाएको आवाजलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मत्थर गरिदिएपछि सहकारी संचालकहरु अफ्ठयारोमा परिरहेका छन् । राष्ट्रिय सहकारी महासङ्घले गरेको सन्दर्भ ब्याजदरको प्रस्तावलाई अस्वीकार गर्दै तत्काल ब्याजदर बढाउन नसक्ने अभिव्यक्ति दिएपछि व्यवसायीहरु झस्किएका छन् ।

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले यस्तो समस्या अल्पकालिन भएकाले चाँडै समाधान हुने बताए । सहकारीका इसुहरू सुधार गर्न र तरलताको अभाव समाधान गर्न विभाग तयार रहेको जनाउँदै सहकारीका सञ्चालकहरूले आफ्नो सीमाको ख्याल गर्दै आफ्नो सिद्धान्त तथा मूल्य मान्यता ध्यान दिन सुझाव दिए ।