एमसीसीबारे कुनैपनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज छैन - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

एमसीसीबारे कुनैपनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज छैन


काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल सम्झौतासम्बन्धी कुनैपनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज नरहेको प्रष्टाएको छ ।

एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा सम्झौता सम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थलाग्ने समाचार सप्रेषण गरिएको भन्दै यसको खण्डन गरेको हो ।

एमसिए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र यस संस्थाले सावर्जनिक महत्वका सम्पूर्ण दस्तावेजहरु आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको भन्दै एमसीए नेपालले यस्ता समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसिए–नेपालको पारदर्शिता प्रतिको प्रतिबद्धता विपरित हुने उसको भनाइ छ । यस्ता गलत सूचनामा विश्वास नगर्न र नगराउन पनि एमसिए–नेपालले अनुरोध गरेको छ । साथै, कुनैपनि दस्तावेज प्राप्त गर्नका लागि कार्यालयमा सम्पर्क राखिएमा ऐन अनुसार दस्तावेजहरु उपलब्ध गराइने पनि संस्थाले जनाएको छ ।