राष्ट्र बैंकले ठूला कारोबारीहरुको सम्पत्ति विवरण माग्यो - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

राष्ट्र बैंकले ठूला कारोबारीहरुको सम्पत्ति विवरण माग्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार गर्नेलाई निगरानी बढाएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत राजस्व चुहावटका घटनाहरू बढ्न थालेपछि राष्ट्र बैंकले ठूला कारोबारीहरुको सम्पत्ति विवरण माग गरेको हो । कारोबारको स्रोत पहिचानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई पत्राचार गर्दै एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोत विवरण बुझाउन आग्रह गरेको छ । वाणिज्य बैंकहरुलाई पठाइएको पत्रहरुमा साउन १ देखि पुस ३० गतेसम्म भएको कारोबार उपलब्ध गराउन भनिएको छ ।
तथ्याङ्क उपलब्ध गराउँदा ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारको विवरण माग गरिएको छ। त्यसको लागि केन्द्रीय बैंकले ढाँचा नै पठाएको छ । राष्ट्र बैंकअन्तर्गत बैंक सुपरिवेक्षण विभागले यसअघि पनि स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको थियो ।

पछिल्लो समय विद्युतीय माध्यमबाट क्रिपटोकरेन्सी, अनलाइन जुवा डिजिटल नेटवकिङ जस्ता अवैधानिक गति बढेपछि राष्ट्र बैंकले विवरण मागेको अनुमान गरिएको छ । हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाबाट १० लाख भन्दा बढी रकम निकाल्न पाइँदैन ।