काठमाडौं । देशका विभिन्न स्थानमा हिमपात भएको छ । हाल देशमा सक्रिय पश्चिमी न्युन चापीय प्रणालीका कारण देशभरी नै आशिंकदेखि पूर्ण बदलीसँगै कतिपय ठाउँमा वर्षा पनि भइरहेको छ । शनिबार पनि देशभर नै बदली एवं वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताएका छन् ।
आइतबारदेखि मौसम खुल्दै जाने मौसमविद् प्रधानांगले बताए । आइतबार एक दुई ठाउँमा बदली र वर्षा हुनेजस्तो देखिए पनि बाँकी देशभरकै मौसम खुल्ने उनको भनाइ छ ।
रातभर पानी परेको काठमाडौं उपत्यकामा शुक्रबार पनि वर्षा भइरहेको छ । आकाशमा कालो बादल भएकाले दिउँसै अँध्यारो भएको छ ।
न्यूनतम तापक्रम बिहान ५.५ डिग्री सेल्सियस रहेको थियो । तर घाम लाग्न नसकेपछि भने अहिले पनि चिसोले कठयाङ्ग्रिएको अवस्था छ ।
त्यस्तै, बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यातायात, बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ । यता, संखुवासभाको हिमाली क्षेत्रमा पनि भारी हिमपात भएको छ ।
तीन दिनदेखि लगतार भएको हिमपातका कारण भोटखोला क्षेत्र, किम्माथांका क्षेत्रमा आवतजावत समस्या भएको छ । यता, काठमाडौं आसपासका डाँडामा पनि हिमपात भएको छ । काठमाडौंको चन्द्रागिरिमा परेको हिउँमा रमाउनेहरुको भीड बढेको छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका छन् ।