भ्रातृ एवम शुभेच्छुक संस्थाहरुको अधिवेशन गर्ने मनस्थितिमा कांग्रेस - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

भ्रातृ एवम शुभेच्छुक संस्थाहरुको अधिवेशन गर्ने मनस्थितिमा कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ एवम शुभेच्छुक संस्थाहरुको अधिवेशन गर्ने विषयमा छलफल अघि बढाएको छ । उक्त विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक माघ २७ गते पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी म्याद सकिएका भ्रातृ एंव शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन बारे छलफल गर्न समिति बैठक आह्वान गरिएको जानकारी दिए ।

नेपाली कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको कार्यकाल सकिएको छ भने नेपाल विद्यार्थी संघ,तरुण दल,महिला संघ,दलित संघ र मुस्लिम संघ नेतृत्वविहीन अवस्थामा छन् । १४ औं महाधिवेशनबाट निर्वाचन केन्द्रीय समितिको तेस्रो बैठकले दुईसाता अघि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो ।

४६ सदस्यीय कार्यसम्पादन समितिमा १३ पदाधिकारीसहित ३७ जना सदस्य छन् । बाँकी सदस्य मनोनित गर्न बाँकी छ । केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा आवश्यक निर्णय गर्नसक्ने अधिकार विधानले केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको छ ।

कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने पार्टी विधानमा व्यवस्था गरिएको छ । कांग्रेसका १३ वटा भ्रातृसंस्था छन् । तीमध्ये नेपाल मुस्लिम संघ र नेपाल राष्ट्रिय मगर संघबाहेक ११ वटा भ्रातृ संस्थाले विधान बमोजिम महाधिवेशन गर्नुपर्ने म्याद गुजारिसकेका छन् ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र राष्ट्रिय लोकतान्त्रिक अपांग संघका तत्कालिन समितिहरूले समयमै महाधिवेशन गर्न नसकेपछि पार्टीले हस्तक्षेप गरेर महाधिवेशन गर्नकै लागि भन्दै तदर्थ समिति गठन गरेको छ ।

नेपाल दलित संघ, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघले समेत कार्यकाल पूरा गरिसकेका छन्, तर महाधिवेशन गर्ने कुनै तयारी छैन । ०६६ सालमा मान्यता पाएको नेपाल तामाङ संघ र ०६७ सालमा मान्यता पाएको नेपाल ठाकुर समाजले त एकपटक पनि अधिवेशन गर्न सकेका छैनन् ।

"