काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाको ३१ बर्ष लामो यात्रालाई पूर्णविराम लगाएका छन् । उनले मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेसँगै राप्रपासँगको यात्रालाई विट मारेका हुन् । पार्टी छाडेको घोषणासँगै उनले नयाँ पार्टी खोल्दैछन् ।
गृहजिल्ला मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । आफ्ना मागबारे नेतृत्वले सम्बोधन नगरेकाले नचाहँदा नचाहँदै पार्टीबाट अलग हुने निर्णय गर्न बाध्य भएको थापाले बताएका छन् । थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । साथै उनले केन्द्रीय सदस्य मनोनयनमा पनि अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी गरेको आरोप लगाएका थिए ।
थापाले खोल्न लागेको नयाँ पार्टीमा भने गत मंसिरमा भएको राप्रपाको महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्य पनि रहने दाबी गरिएको छ । उनको समूहबाट निर्वाचित उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुबबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही र भुवन पाठकसहित थापा पक्षबाट निर्वाचित झन्डै एक सय केन्द्रीय सदस्यले नयाँ पार्टी खोल्नलाई साथ दिने दाबी गरिएको हो ।
गत महाधिवेशनवाट तीनजना उपाध्यक्ष, एकजना महामन्त्री र एक सय ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यीमध्ये सबैजसो थापाको नयाँ पार्टीमा रहने दाबी गरिएको छ । थापा निकट एक केन्द्रीय सदस्यले बुधबारदेखि नै नयाँ पार्टीका बारेमा छलफल चलाउने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहनेछु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’ सोमबार उनले आफूनिकटका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको भेलामा माग पूरा नभए पार्टीबाट अलग हुने भन्दै त्यसका लागि कार्यकर्तालाई तयार रहन आग्रह गरेका थिए ।