सरकारले ठूला आयोजनाका लागि बजेट अभाव हुन नदिने - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

सरकारले ठूला आयोजनाका लागि बजेट अभाव हुन नदिने


काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाको प्रसंगमा यस्तो प्रतिबद्धता जनाएको हो । आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला मन्त्रालयले प्रतिबद्धता जनाएको हो ।

बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले राष्ट्रिय गौरवको सो आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाए । तर त्यसका लागि यथार्थमा आधारित योजना लिएर आउन पनि आयोजनालाई आग्रह गरे ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले पनि आयोजनालाई बजेटबारे समयमै सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्न आग्रह गर्दै आयोजनाको कामको प्रगति हेरेर बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

रक्षा मन्त्रालयले भने तोकिएकै मितिमा आयोजना सम्पन्न गर्ने तर त्यसका लागि सरकारले बजेटको स्रोतको सुनिश्चितता गर्नुपर्ने जनाएको छ । रक्षा सचिव किरणराज शर्माले आयोजना तोकिएकै मितिमा सम्पन्न गर्न बजेटको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए । करिब १ खर्व ७५ अर्व बजेट लाग्ने सो आयोजना २०८१ सालभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।