बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाइयो, चुनावका लागि ५० अर्ब माग - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाइयो, चुनावका लागि ५० अर्ब माग


काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् ।

सरकारले चालु आर्थिक बर्षकै बजेट पनि प्रतिस्थापन विधेयकमार्फत अघिल्लो सरकारले ल्याएको बजेटको आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोडको ल्याएको थियो । सरकारले अर्धवार्षिक समिक्षा गर्दै पुनः ८६ अर्बले घटाएर १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारेको छ ।

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षमा बिनियोजित बजेटको ९४ दशमलब ७ प्रतिशत अर्थात १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्र खर्च हुने जानकारी दिए । उनले यो वर्ष पूर्ण आकारमा बजेट खर्च नहुने बताए । चालु आर्थिक वर्षमा चालू खर्च १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ, पुँजीगत खर्च ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनमा १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको मन्त्री शर्माले बताए ।

पूर्व तयारी बिना प्रतिस्थापन बजेट ल्याएकाले आर्थिक वर्षको ६ महिनाको अवधिमा पुँजीगत खर्च लक्ष्य अनुसार हुन नसकेको स्वीकार गरे । पुँजीगत खर्च बढाउनको लागि अब सरकारले बजेट निर्माणको प्रक्रिया नै परिर्वतन गर्नुपर्ने उनको भनाइ थियो ।

अर्थमन्त्री शर्माले अहिले नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चुनौती भएको बताए । उनले पछिल्लो समय क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइ भइरहेकाले अर्थतन्त्रमा समस्या देखिएको तर्क थियो ।

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि बिनियोजन गरिएभन्दा ५ गुणा बढी रकम माग भएकाले अर्थमन्त्रालय दबाबमा परेको बताए । उनले सरकारले चालु आर्थिक बर्षको बजेटमा १० अर्ब रुपैयाँ छुट्याएको भए पनि माग भने ५० अर्ब रुपैयाँको आएको बताए ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र जोगाउन आयात निरुत्साहित गर्न बाध्य हुनुपरेको बताए ।