महाअभियोग विरुद्ध एमाले प्रतिवादमा - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

महाअभियोग विरुद्ध एमाले प्रतिवादमा


काठमाडौं । नेकपा एमालेले महाअभियोग लगाउने पाँच दलीय गठबन्धनको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय एमालेले गरेको हो ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच दलीय गठबन्धनले निर्वाचन सार्न र अदालतलाई अस्थिर बनाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको ठहर गरेको छ ।

एमालेले सरकारले एमसीसी पास गर्ने रणनीतिमा सरकारले अदालतलाई पनि गिजोलेको ठहर गरेको हो । बैठकले सरकारविरुद्ध खबरदारी गर्न जनसंघर्ष पनि जारी राख्ने निर्णय गरेको छ । बैठकपछि एमाले सांसद घनश्याम भुसालले एमसीसी र प्रधानन्यायाधीश राणालाई बोकेर निर्वाचनमा जान नसकिने बताए ।

यसअघि बैठकमा अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताएका छन् । नेता ओलीले महाअभियोग प्रस्ताव गलत भएको बताएका थिए ।

एमालेले एमसीसीबारे एकीकृत धारणा ल्याउन सत्तारुढ गठबन्धनलाई आग्रह गरेको छ । एमसीसीका बारेमा सत्तारुढ गठबन्धन आवद्ध दलकै फरक फरक धारणा रहेको भन्दै एमालेले अहिले नै एमसीसीबारे आफ्नो पार्टी स्पष्ट धारणा नल्याउने बताएको हो ।