इन्धनको मूल्य बढ्दा महंगी आकाशिने - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

इन्धनको मूल्य बढ्दा महंगी आकाशिने


काठमाडौं। विश्वका विभिन्न देशहरुमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन हट्दै गएपछि पेट्रोलियम पदार्थको माग चुलिएको छ । मागसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य पनि आकाशिएको छ । नेपालमा पनि वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महीनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रू.३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।

पेट्रोलियम पदार्थअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको ६ महीनामा वीरगञ्ज नाका प्रयोग गरी रू.३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा रू.६५ अर्ब ३७ करोड ५१ लाख मूल्य बराबरको १७ लाख आठ हजार ५२५ लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाई इन्धन आयात भएको छ ।

यो समीक्षा अवधिको तुलनामा १०५ प्रतिशत बढी मूल्यको १४४ प्रतिशत इन्धन आयात भएको हो । कोरोना संक्रमणका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो । चालू आवको पहिलो ६ महीनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका कारण आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

यता, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल १०० डलर पुग्ने अनुमान गरिएको छ । युक्रेन र रुसको झगडा साथै अमेरिका र युरोपको एक्सनले सोमवार तेलको भाउ सन् २०१४ यताको नयाँ उचाईमा उक्लिएको थियो । तेलको भाउ १०० डलरमा पुग्यो भने यो सन् २०१४ यताको पहिलो पटक हुनेछ । यस्तो भएमा यसले विश्वको आर्थिक वृद्धिदर घटाउनेछ भने महँगी बढाएर विश्व अर्थतन्त्रलाई दोहोरो झट्का दिनेछ ।

तेलको भाउ प्रतिब्यारेल १५० डलरमा पुग्यो भने विश्वको आर्थिक विस्तार ठप्प हुने जेपी मोर्गन एन्ड चेजले चेतावनी दिइसकेको छ । महंगी ७ प्रतिशतमाथि उक्लिने अनुमान गरिएको छ । विश्वभर महँगी बढ्नुको एउटा कारण तेलको भाउलाई पनि लिइएको छ । एक वर्ष अघिको तुलनामा अहिले तेलको ५० प्रतिशतभन्दा धेरैले बढेको छ ।