विश्वकप छनोटमा नेपालको सानदार सुरुवात - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

विश्वकप छनोटमा नेपालको सानदार सुरुवात


काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको हो ।

एक सय १८ रनको विजय लक्ष्य पाएको ओमान १७ ओभरमा सबै विकेटको क्षतिमा ७८ रनमा समेटियो । ओमानका लागि नसिम खुशीले मात्र २४ रन बनाउनुभयो । नेपालको कसिलो बलिङको शिकार भएको ओमानका सुरुवाती सात ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्न कमल ऐरीले तीन, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए । जितेन्द्र मुखिया र अभिषेक बोहोराले एक एक विकेट लिए । ब्याटिङमा कमजोर देखिएको नेपालले ओमानलाई रोक्न बलिङमा भने सानदार खेल प्रदर्शन गर्‍यो । पहिलो जितसँगै नेपालको विश्वकप छनोट सम्भावना बढेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा दुई चौकाको सहयोगमा उक्त रन बनाएका हुन् ।

कप्तान सन्दीप लामिछानेले अविजित १६ रन बनाए । यसैगरी लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । नेपालका ओपनरद्वय कुशल भुर्तेल पाँच र आरिफ शेख चार रन जोड्दै बाहिरिएपछि नेपाल केही दबाबमा परेको थियो ।

बलिङमा ओमानका खवार अलीले सर्वाधिक तीन विकेट लिनुभयो । विलाल खानले दुई तथा फयाज बट र जिसन मक्सोदले एक एक विकेट लिनुभयो । छनोट खेलको समूह ‘ए’ रहेको नेपालले दोस्रो खेल शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जितेर फाइनलमा पुग्ने टोलीले यसैवर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

सोही प्रतियोगिताअन्तर्गत नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ। विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स ९युएई० छन्।

ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई शीर्ष टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने ‘टि २०’ विश्वकपमा स्थान बनाउने छन् ।

प्रधानमन्त्रीको बधाई

आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले शुक्रबार सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।