नेपालमा एमसीसी विवाद: चीन र अमेरिकालाई टाउको दुखाइ - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

नेपालमा एमसीसी विवाद: चीन र अमेरिकालाई टाउको दुखाइ


काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारेको विवादप्रति अमेरिका र चीनले चासो देखाएका छन् । अमेरिकी राजदूत र चिनियाँ प्रवक्ताले नेपालमा भइरहेको विवाद साथै सडक प्रदर्शनबारे प्रतिक्रिया समेत जनाएका छन् ।

विहीबार र शुक्रबारको राजनीतिक बहस साथै प्रदर्शनका विषयलाई लिएर चीनले अमेरिकामाथि प्रहार गरेको छ । शुक्रवार बेइजिङमा भएको पत्रकार सम्मेलन चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्की कूटनीति सुरु गरेको र त्यसको प्रतिरोध गर्ने बताएका छन् ।

बेइजिङमा भएको पत्रकार सम्मेलनमा एक पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न नभए नेपाल(अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने चेतावनी दिएको विषयबारे चीनको धारणाबारे जिज्ञासा राखेका थिए।

सो क्रममा अमेरिकाले धम्की कूटनीतिक गरेको भन्दै चीनले प्रतिरोध गर्ने बताएका हुन्। उनले नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्न सक्ने धारणा राखेका थिए। उनले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्न नेपाललाई चीनको समर्थन रहने बताएका थिए।

यता नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले ट्विट गर्दै एमसिसीको विरोधमा शुक्रवार कलङ्की क्षेत्रमा शङ्कास्पद विस्फोटक पदार्थ राखेको घटनाप्रति लक्षित गर्दै अमेरिका वाक तथा अभिव्क्ती स्वतन्त्रताको सधैँ सम्मान गर्ने तर हिंसाको सधैँ विरोध गर्ने लेखेका छन्।

यसले विश्वका दुई शक्ति राष्ट्रबीच टकराव बढ्नसक्ने अनुमान गरिएको छ । जसको असर नेपालमा पर्ने देखिन्छ । नियमित रहेका विदेशी सहायता रोकिने हो कि भन्ने चिन्ता नेपाललाई परेको छ । नेपाल असंग्लन परराष्ट्र नीति, संयुक्त राष्ट्र संघको बडापत्रमा विश्वास गर्ने देश भए पनि एमसीसीकै विषयलाई लिएर नेपालमा हिंसा भड्किने हो कि भन्ने चिन्ता बढेको छ ।

सरकारले एमसिसी सम्झौता संसदमा टेबल गर्ने तयारी गरेसँगै त्यसको विरोधमा देशका विभिन्न स्थानमा प्रिदर्शनहरु भइरहेका छन् । प्रदर्शनमा सरकारमा रहेका २ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ सङ्गठनहरू संलग्न छन्। शुक्रवारै कलङ्कीको ढुङ्गे अड्डामा नो एमसिसी लेखेर प्रेसर कुकर राखिएको थियो। नेपाली सेनाको टोलीले त्यसलाई निष्क्रिय बनाउनेक्रममा सो नक्कली बम रहेको खुलेको थियो।

दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एक साता अघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी एमसीसी सम्झौताबारे अमेरिकाको धारणा सार्वजनिक गरेका थिए ।