काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गईरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना पनि प्रस्तुत गरे ।
उनले कोभिड–१९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी समेत गरे । स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढिकरणगरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वास समेत व्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।
समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो । तस्विर साभार : गोरखापत्र