फिलिपिन्सविरुद्ध नेपालको शानदार जित, अबको भिडन्त क्यानाडासँग - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित, अबको भिडन्त क्यानाडासँग


काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ ।

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।

फिलिपिन्सका लागि डेनियल स्मिथले २०, कप्तान जोनाथन हिलले ११ तथा जोर्डन अलेग्राले अविजित २७ रन ल्याउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले तीन विकेट लिए । गुल्सन झा, जितेन्द्र मुखिया, अभिनास बोहरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे ।

त्यसअघि ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

उसका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् ।

यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट पारस खड्का र ज्ञानेन्द्र खड्काले मात्र शतक प्रहार गरेका छन् । नेपालबाट टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने कुशल तेस्रो खेलाडी हुन् ।

यस्तै, ऐरीले ४७ बलमा ८३ रन बनाउँदा लोकेश आशिफ शेख पहिलो बलमै आउट भए भने लोकेश बलले ३ बलमा ६ रन बनाउँदै अविजित रहे । फिलिपिन्सका डेनियल स्मिथ, मिग्गी पोडोस्की र गुर्भुपिन्दर चोहानले समान एक–एक विकेट लिए ।

जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि फिलिपिन्सलाई नै पराजित गर्दै क्यानडा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको थियो । क्यानाडा दुई अंकसहित दोस्रो स्थानमा रहँदा समान दुई अंक भएको ओमान तेस्रो स्थानमा छ ।

यसअघि शुक्रबार ओमानविरुद्धको खेलमा नेपालले ३९ रनको शानदार जित हात पारेको थियो । सोमबार नेपालले समूहको अर्को टोली क्यानडासँग भिड्नेछ ।