काठमाडौं । सडकदेखि सदनसम्म उग्रप्रदर्शनकाबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबुल भएको छ । आइतबार टेबुल भएसँगै प्रतिनिधि सभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित पनि गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा टेबुल गरेका थिए । सम्झौता टेबुल पछि सभामुख अग्निप्रसाद सापकोटाले आउँदो बिहिबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
तर एमसीसीविरुद्ध वानेश्वर क्षेत्र दिनभर तनावग्रस्त भयो । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले आइतबार विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी उत्तेजित भएपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो । एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिइएको थियो ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले रबरको गोलीसमेत चलाएको थियो ।
चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी विरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिएका हुन् ।
एमसीसी टेबुल भएपछि पक्ष र विपक्षमा प्रतिक्रियाहरु आइरहेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच भएको करार सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।
नेपाली जनतालाई छलछाम गरेर ल्याइएको एमसीसी सम्झौतालाई संशोधन र परिमार्जन नगरी अघि बढाउँदा राष्ट्रियहितको पक्षमा नहुने बताए ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)संसदीय दलका प्रमुख सचेत खगराज अधिकारीले सत्तागठबन्धन नीतिहित, गतिहित र गन्तव्यहित यात्रामा अघि बढेको आरोप लगाए ।
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वका सरकारले सदनमा दर्ता गराएको एमसीसीलाई सरकारको निरन्तरताका आधारमा वर्तमान सरकारले छलफलसहित निष्कर्षका लागि सदनमा पेश गरेको बताए ।
कानुन तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसीबारे जनतालाई यथार्थ जानकारी गराउन संसद्मा एमसीसी टेबुल गरेको बताए । अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसद्मा कुनै पनि छलफल र बहस नभएकाले संसद्मा टेबुल गर्नुपरेको उनले बताए । ‘संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसद्मा टेबुल भएको हो, अब संसद्मा छलफल र बहस हुन्छ। पास वा फेल जे भए पनि सांसदमै हुन्छ,’ संसद् भवनबाट बाहिर निस्किने क्रममा सञ्चारकर्मीसँग बडूले भने। तस्विर साभार : गोरखापत्र
"