एमसीसी प्रक्रियाबाट टुंङ्गिन्छ, सत्ता गठबन्धन कायम रहन्छ - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

एमसीसी प्रक्रियाबाट टुंङ्गिन्छ, सत्ता गठबन्धन कायम रहन्छ


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सोमबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिए । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताए ।

उनले भने, ‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनुपर्छ, एमसीसी पनि समस्या समाधान हुनुपर्यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो ।’

त्यस्तै प्रचन्डले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिएका छन् । केन्द्रीय समितिको बैठक बसेर ठोस कार्ययोजना तयार नहुँदासम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोष्टर तयार पार्न भनेका छन् ।