एमसीसीको रडाको: सत्तामा फर्किने एमालेको सपना - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

एमसीसीको रडाको: सत्तामा फर्किने एमालेको सपना


काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गराउने विषयले शीर्ष राजनीतिक दलहरुमा खटपट चलिरहेको छ । प्रमुख प्रतिपक्षी दल एमाले, सत्तारुढ दल माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)भित्र एमसीसीको पक्ष–विपक्षमा नेताहरुले अभिव्यक्ति दिइरहेका छन् । सत्तारुढ पाँच दलबीच तिक्तताको अवस्था सिर्जना भएको छ । गठबन्धन टुट्ने र नयाँ समीकरण निर्माण हुने आधारहरु पनि देखिन थालेका छन् ।

एमसीसी नेपालमा प्रवेश पाएको ११ वर्षको दौरानमा सत्ता सयर गरेका सबै शीर्ष दलहरुले आफ्नो प्रष्ट धारणा नबनाउँदा पारित हुन सकिरहेको थिएन । तर अब टेबुल भइसकेको उक्त परियोजना संसदबाट पारित गराएरै छाड्ने मनसायका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले कसरत गरिरहेका छन् । सत्तारुढ गठबन्धनबीच एमसीसीका विषयमा सहमति बन्न नसकेपछि प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी पारित गर्न सघाउने र आफ्नै नेतृत्वमा सरकार चलाउने सपना पनि देख्न थालिसकेको छ । एमसीसीका लागि सहमति जुटाउने हो भने एमालेले आफ्ना पुराना मागहरु पनि सम्बोधन हुनुपर्ने अडान राखेको छ ।

अध्यक्ष केपी शर्मा ओलीलगायतका केही नेताहरुले एमाले फेरि सत्तामा आउने संकेत दिइसकेका छन् । बुधबार ओलीको ७१ औं जन्मोत्सवका अवसरमा ‘समवेत दृष्टि’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले जनताले पुनः एमालेलाई नै ल्याउने दावी गरे । आफु देश र जनताकै लागि संघर्ष गरिरहेको र जनताकै बलमा एमाले अध्यक्ष र प्रधानमन्त्री समेत भएको भन्दै एमालेमाथि अहिले जालझेल भएको उनको भनाइ थियो ।

‘देश र जनताका लागि बनेको पार्टी भएकाले एमालेलाई फेरि जनताले नै राज्य सञ्चालन गर्ने ठाउमा पुर्याउनेछन्’ आफु जेलमा पर्दा पनि जनताले नै निकालेको भन्दै उनले जनताको आर्शिवाद सबैभन्दा ठुलो भएको बताए । कसैले एकछिन गुटहरु मिलेर जालझेल गरेर एमालेलाई लडाउन खोजेपनि जनताको साथका कारण एमाले पुन उठ्ने ओलीको भनाइ छ ।

कांग्रेसले एमालेसँग नयाँ समीकरण गर्नसक्ने संकेत बुझेका नेकपा एसका नेता झलनाथ खनालले बुधबार मात्र कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको प्रतिक्रिया दिइसकेका छन् । एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उनले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका हुन् । नेता खनालले गठबन्धन टुटे पनि केही फरक नपर्ने टिप्पणी समेत गरे ।

केही दिन यता प्रधानमन्त्री देउवा र ओलीबीचको बाक्लो भेटघाटले नयाँ समीकरण बन्नसक्ने अडकलबाजी पनि काट्न थालिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले पनि ओलीसँग बालकोटमै पुगेर भेटवार्ता गरेका छन् । एमाले–काँग्रेसका नेताहरुबीच बाक्लो भेटघाट हुन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन र सरकार टुटाउने खतरा बढेको प्रतिक्रिया दिइसकेका छन् ।

यी सबै घटनाक्रमलाई हेर्दा एमसीसीका विषयमा एमाले नरम देखिएको छ भने कांग्रेसका सबै नेता एमसीसीका पक्षमा खुलेर लागेका छन् । गत फागुन ८ गते ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको एमसीसी हालैमात्र टेबुल भएको हो । अब पास गराउनका लागि एमाले कांग्रेस एक भएर सहज हुने देखिन्छ । यसका लागि दलहरुबीच सत्ता सयरका विषयमा पनि छलफल हुने र एमाले सत्तामा फर्कने अनुमान पनि गरिएको छ ।