रूस र युक्रेनबीचको तनावप्रति नेपालको चासो - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

रूस र युक्रेनबीचको तनावप्रति नेपालको चासो


काठमाडौं । रूस र युक्रेनबीचको तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो । अत्यावश्यक परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ ।

‘युक्रेनमा रहनु भएका नेपाली नागरिकले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरेर अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ’, मन्त्रालयको सूचनामा भनिएको छ, ‘साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ।’

मन्त्रालयले नेपाली राजदूतावास, बर्लिनमा रहेका ३८ बढी नेपाली सम्पर्कमा रहेको र उनीहरु सकुशल रहेको जानकारीसमेत गराएको छ । आवश्यक परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

‘युक्रेनका लागि समेत सहप्रमाणीकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको छ’, मन्त्रालयले सूचनामा थप भनेको छ, ‘त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको निम्नलिखित ठेगानमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराइन्छ।’

रूस र युक्रेनबीचको तनावले युद्धको रूप लिनसक्ने अनुमान पनि गरिएको छ । जसको प्रत्यक्ष असर नेपालको कूटनीतिक क्षेत्रमा पर्नसक्ने देखिएको छ । नेपालका कुटनीतिज्ञहरुले रुसले युक्रेनमाथि गरिरहेको कदम अन्तर्राष्ट्रिय कानुनविरूद्ध रहेको प्रतिक्रिया दिएका छन् । दुई देशबीचको विवादले नेपालको विभिन्न क्षेत्रमा असर पर्ने पनि देखिएको छ ।

विशेषत नेपाली सेनाको हवाई उडानमा प्रत्यक्ष असर पर्ने साथै सेनाको जहाज र हेलिकोप्टर मर्मत सम्भार गर्दा आवश्य पर्ने सामग्री युक्रेनबाट ल्याउन समस्या पर्ने देखिएकोछ । नेपाली सेनासँग रहेको धेरै हेलिकोप्टर रूसमा निर्मित छन् । त्यस्तै बैदेशिक ब्यापारमा पनि नेपाललाई असर पर्ने देखिन्छ ।

वैदेशिक व्यापारमा नेपालको आठौं ठूलो साझेदार देश युक्रेनसँग नेपालले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा १४ अर्ब ४२ करोड ४९ लाख ३९ हजार रूपैयाँको व्यापार गरिसकेको छ । त्यस्तै पछिल्लो सात महिनामा नेपाल र रूसबीच चार अर्ब ४६ करोड ३९ लाख ५९ हजार रूपैयाँको व्यापार भएको छ । युक्रेनबाट कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिने गरेको छ ।

यता, रुस र युक्रेनबीच भइरहेको तनाव रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुधबार प्रदर्शन गरेको छ । समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न नेपालस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको हो ।