यसरी भत्किए रुकुममा काँग्रेसी मन - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

यसरी भत्किए रुकुममा काँग्रेसी मन


हामी पढ्छौ : नेपाली कांग्रेसी देशमा राणाशासन, पन्चायत र राजतन्त्रको विरोधमा एक प्रकारको आँधी ल्यायो, चेतना ल्यायो र काँग्रेसकै नेतृत्वमा देशको आमूल परिवर्तनको प्रारम्भ भयो । यसर्थ पनि काँग्रेसजनहरु गर्व गर्छन् : २००७ सालमा जनक्रान्तिको जग निर्माण गरेको पार्टीले अहिले पनि संघीय लोकतान्त्रिक नेपालको नेतृत्व गरिरहेको छ ।

केहीदिन अघि पार्टीको केन्द्रीय महाधिवेशन भयो । त्यस अघि जिल्ला अधिवेशन, पालिका अधिवेशन, वडा अधिवेशन भए । रुकुम पश्चिमको सातौ अधिवेशनमा भने केही ब्यक्तिहरुको अनौठौ हर्कत छताछुल्ल भयो । अरुबाट हैन, आफूलाई असली काँग्रेस भन्नेहरुबाट नै । पार्टी सुदृढीकरण र नयाँ नेतृत्व निर्माण गर्ने भन्दै अधिवेशन गरेको कांग्रेसमा विभिन्न उतारचढावहरु देखिए ।

रुकुम पश्चिममा यतिबेला माओवादी केन्द्रको एकछत्र राज छ । वडा, पालिका, प्रदेश, केन्द्र सबै ठाउँमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । माओवादीका लागि यस्तो सुनौलो मौका हुँदा पनि जनताले फरक नेतृत्व खोजिरहेको बेला काँग्रेस जनताको रोजाईमा आउन असम्भव थिएन । असल नेता, राम्रा योजना र समानुपातिक व्यवहारले कांग्रेस बिकल्प बन्न सक्दथ्यो । वडा र पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन उद्घाटनको बेला सम्म काँग्रेस कार्यकर्ताको अनुहारमा उत्साह पनि थियो, आशाका किरण थिए, अरुहरुका लागि पनि आकर्षण थियो । तर जब लेनदेनमा पद बेचिएको, नाताबाद र धनबादसँग पद साटिएको आरोप सहितका अडियो सार्वजनिक भयो काँग्रेसका इमान्दार कार्यकर्ताको मुहार निन्याउरो हुन थालेको प्रष्ट देखियो ।

अरु पार्टीहरुले ‘खुचिङ’ भन्ने मौका प्रशस्त पाए । आफ्नै पार्टीका जिम्मेवार कार्यकर्ताले एक अर्काका बिरोधमा खोईरो खनेर सामाजिक सञ्जाल भर्न थाले । यतिसम्म कि केन्द्रीय सदस्य बनेका मानबहादुर नेपाली, प्रदेश महामन्त्री बनेका कृष्णबहादुर रोकाय, पूर्वराज्यमन्त्री गोपालजी जंग शाह र जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीलाई गाउँ बहिष्कारको हल्ला फिजाईयो, आफ्नै कार्यकर्ताबाट ।

राजनीतिमा इमान्दार र स्वच्छ छवि बनाएका भनिएका धीरेन्द्र बटाला, खड्कबहादुर डाँगी, गोरखचन्द, शिव आचार्य, तारक केसी, बीरबहादुर ओलीहरुलाई पाखा लगाईएपछि कार्यकर्ताहरु हतास भए । कार्यकर्ताले आशा गरेका नेताहरु नै मौन बस्नाले काँग्रेस ‘कुँजिदै’ जाने अवस्थामा आएको स्वयम कार्यकर्ताहरुको भनाई छ ।

रुकुममा माओवादी राजको विकल्पदिन काङ्ग्रेस पार्टी नै उभिएको थियो । स्वभावैले सरकारमा रहेको पार्टी प्रति जनताको गुनासो बढी हुन्छ । यसैकारण रुकुमेलीको कांग्रेस पार्टीप्रतिको लगाव बढेको जस्तो देखिन्थ्यो । आफ्नो पार्टीलाई अघि सारेको र माओवादीको विकल्पमा आफुलाइ उभ्याएको कांग्रेस पार्टीले जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधिको छनोटमा जुन चरित्र देखायो त्यसबाट कांग्रेस अझैपनी पछारिने अवस्था रहेकोछ ।

राजनीतिमा रमाएका जिल्लाका ठूला भनिने नेताहरु नै पैसा, पद र अनेक प्रलोभनका प्रभावमा परेको हुन सक्छ भन्ने चर्चा-परिचर्चा पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुले गर्दै हिड्नु र केही प्रष्ट काण्डहरु अडियो मार्फत बाहिरिनुले दलभित्रको चिन्ताजनक स्थिति स्पष्ट हुन्छ ।

आगामी स्थानीय तहको निर्वाचनमा आफुलाई अब्बल साबित गर्न तम्सिएको काङ्ग्रेसभित्र यतिबेला खैलाबैला मच्चिएको छ । आफ्नै खास कार्यकर्ताहरुलाई आरोप बोकाउन सिकाएर अघि लम्किन खोजेको पार्टी के साच्चै जिल्लामा माओवादीको विकल्पमा उभिएला ? यक्ष प्रश्न छ । लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक छ भनेर नथाक्ने नेताहरु नै नातावाद र कृपावादमा लिप्त भएको गुनासो कांग्रेसकै कार्यकर्ता गरिरहेका छन । कांग्रेस पार्टी निर्माण गर्दागर्दै आफ्नो जीवन खेर फालेका, पार्टी निर्माणकै लागि आफ्नो रगत र पसिना बगाएका कार्यकर्ता माथि नेताहरुले ठूलो राजनीतिक अपराध र बेइमानी गरेको भन्दै कार्यकर्ताले पार्टी नेतृत्वको आलोचनागर्न थालेपछि काँग्रेसमा थप समस्या पैदा भएको छ । यसले आफ्नै घर जलाएर खरानीको व्यापार गर्न खोजेको जस्तो संकेत दिईरहेको छ । अधिवेशनमा देखिएको चरित्रले यतिबेला कार्यकर्ता खुसी देखिदैनन । उनीहरु नै पार्टीप्रतिको मोह मरिसकेको बताउँछन ।

‘अब कांग्रेसमा इमानको राजनीति सकिएछ, अब त मलाइ बिपिको कार्यकर्ता हुँ भन्न पनि मन छैन, म काङ्ग्रेस हौ भनेर भन्ने ठाउँ मेरा नेताहरुले मेटिदिए, मैले आजसम्म पार्टीका लागि गरेको त्याग, तपस्या र जीवन समर्पणको बदलामा नेताहरुको घिनलाग्दो हर्कत पाएँ, इमानदार कार्यकर्ता पाखा लाग्नुपर्यो, अवसरवादीहरु नजिक आए लाखौ पैसासँग पद साटियो, अब हामी जस्ता पार्टीप्रति बफादार कार्यकर्ताको कुनै मतलब छैन....’आठबीसकोट नगरपालिका नेपाली कांगे्रसका पूर्व सभापति कमल शाह यी तमाम् गुनासा काँग्रेस कार्यकताले छरपस्ट पारेका छन् । लाग्यो, कांग्रेस नेता र कार्यकर्ताले मरिमेटी जोगाएको पार्टीको क्रेज त अधिवेशनमै सक्काए छन ।

पार्टीका मुख्य नेताहरुको अनैतिक र मर्यादाहीन कदमलाई परिवर्तनको पक्षमा उभिएका आम मतदाताहरुले अलिकति पनि मन पराएका छैनन् । माओवादीको विकल्पमा उभिएको काङ्ग्रेसलाई आगामी निर्वाचनमा यी तमाम कुराहरुले कति फरक पर्ला ? त्यो त हेर्न बाकी नै छ ।

आफ्नै बाट यसरी आन्तरिक कुराहरु पर्दाफास हुनु दुर्भाग्यपूर्ण शृङ्खला भएको पनि काङ्ग्रेसप्रती आस्था राख्ने केही बुद्धिजीवी वर्गहरु बताउँदै आएका छन । कांग्रेस पार्टीप्रती गरेको त्याग, समय र लगानीको उपहार स्वरुप नेताहरुले आफुमाथी ठूलो घात गरेको र ती घातहरु माफि दिन लायक नभएका पनि कार्यकर्ताहरुको गुनासो सुनिन्छ ।

अधिवेशन अघि विभिन्न गुट–उपगुटको माध्यमद्वारा विभाजित नेपाली कांग्रेसको पालिका अधिवेशनमा जसरी नेतृत्वहरु आए त्यतिबेलाको अवस्था हेर्दा लाग्थ्यो साच्चै कांग्रेस सुधार भएर आएको छ । कांग्रेसी मनहरु प्रजातान्त्रिक संस्कार र चरित्रमा सुधार भएको आशा र अपेक्षामा लिप्त थिए । तर जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधि छनौटका बेला जुन काण्डहरु बाहिरिएका छन ती काण्डहरुले कांग्रेस पार्टीलाई झन पछि नधकेल्ला भनेर यसै भन्न सकिने अवस्था छैन ।

नेता कार्यकर्ताहरु एकआपसमा आत्मसमिक्षा गरेर सुधार्ने मौका दिन्छन वा अझै पनि अहिले बाहिर आएका जस्ता हर्कतहरु नेताहरुले दोहोर्याउछन् र कार्यकर्ताहरुले बहिस्कार जस्ता कुराहरु सार्वजनिक रुपमै फेरि गर्न थाल्छन त्यो हेर्न बाँकी नै छ ।