सत्ता गठबन्धन धरापमा, एमसीसी पारित गराउन एमालेसँग कांग्रेस लचक - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

सत्ता गठबन्धन धरापमा, एमसीसी पारित गराउन एमालेसँग कांग्रेस लचक


काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गराउन दलहरुबीच निरन्तर छलफल जुटेका छन् । उक्त सम्झौताबारे सदनमा सैद्धान्तिक छलफलको कार्यसूची रहेपनि सहमति नजुटेपछि नेताहरुको दौडधुप बाक्लिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक कार्यव्यवस्था तथा परामर्श समितिमा सहमति नजुटेपछि फागुन १३ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्दै दलहरु आपसी छलफलमा जुटेका हुन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका बालुवाटारमा छलफल भएको छ । एमसीसी पारित गर्ने र संसदको अवरोध हटाउने विषयमा छलफल गर्दै नयाँ राजनीतिक समीकरण पनि बनाउने विषयमा कुरा भएको छ ।

यसअघि विहीबार नै संसद भवन बानेश्वरमा उनीहरुबीच छलफल भएको थियो । त्यसक्रममा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका थिए ।

उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका थिए । प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुनः कुराकानी गर्ने जवाफ अध्यक्ष ओलीले दिएका थिए । देउवासँगको भेट लगत्तै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता गरेका हुन् । भेटमा एमालेबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी रहेको थियो ।

यद्यपी, संसदमा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसदबाट अनुमोदन गराउन सरकारका तर्फबाट पहल भए पनि सत्ता साझेदार दलहरूमा नै सहमति जुट्न नसक्दा निष्कर्षमा पुग्न सकेको छैन ।

यता, एमसीसी पारित गर्ने र नगर्ने पक्षबीच कित्ताकाट भएपछि पाँच दलीय गठबन्धन टुट्ने संकेत देखिएको छ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तामा रहेरै एमसीसीको विरोध गरेपछि प्रधानमन्त्री देउवाले विकल्प खोज्दै ओलीसँग संवाद अघि बढाएका हुन् । ओली सरकारमा भएका बेलामा एमसीसी संसदमा पेश गरेका थिए । उनले अहिलेसम्म एमसीसीको विरोध पनि गरेका छैनन् । जसका कारण कांग्रेसका लागि एमालेसँगको नयाँ गठबन्धन विकल्प हुने देखिएको छ ।

शुक्रबारको संसद बैठक बोलाइएको छ । बैठक बस्नुअघि नै कांग्रेसले एमालेको समर्थन जुटाउने र माग सम्बोधन गर्नेबारेमा तीब्र छलफल भइरहेको हो । यदि एमसीसी पास हुँदा एमालेले साथ दियो भने यो गठबन्धन चुनावसम्मै जान सक्ने पनि बताइन्छ । साथै नेकपा एस र माओवादी केन्द्रसँगको सहकार्य टुट्ने संभावना छ । नयाँ गठबन्धनमा जनता समाजवादी पार्टी भने यथावत् रहने देखिएको छ । किनकी जसपा एमसीसी पारित गर्ने पक्षमा छ । त्यसैगरी जसपाबाट टुक्रिएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि एमसीसीका पक्षमा मत हाल्ने निर्णय गरेको छ ।