एमसीसी पारित गराउने देउवाको अन्तिम कसरत - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

एमसीसी पारित गराउने देउवाको अन्तिम कसरत


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई तोडेर भए पनि अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने तयारी अगाडी बढाएका छन् । विशेषगरी नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमसीसी पास गराउन सहयोग गर्ने बचन दिए पनि पछिल्लो समय उनीहरुले बोली फेरेपछि देउवा नयाँ रणनीतिमा अघि बढेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउनुअघि एमसीसी पारित गर्ने सन्दर्भमा दुवै नेता सकरात्मक देखिए पछि पछिल्लो समय उनीहरुको गतिविधि सन्तोसजनक नभएपछि देउवा अफ्ठयारोमा थिए । दुवैले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने, कानूनी प्रक्रियामा अदालत आउन नदिने र त्यसको बदलामा एमसीसी पारित गर्ने शर्त राखेको कुरा सार्वजनिक भइसकेको छ । तर दुवै नेताको व्यवहारमा परिवर्तन आएपछि देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बढाएका थिए ।

ओलीसँग देउवाको भेटघाट बाक्लिएपछि नेपाल र प्रचण्ड सशंकित देखिएका छन् । उनीहरु एमालेलाई कुनै पनि हालतमा कांग्रेससँगको सहकार्य अघि बढ्न नदिने मनसायका साथ पुनः ‘यु–टर्न’ भएका छन् । किनकी एमसीसी पारित गराउने सवालमा ओलीले विभिन्न प्रस्तावहरु अघि बढाएपछि तनावमा रहेका देउवासामू नेपाल–प्रचण्ड गठबन्धनलाई जोगाएर एमसीसीमा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने छलफलमा जुटेका छन् । यसै विषयमा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुगेका थिए । त्यसक्रमा राजनीतिक अन्योल समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरूलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उनले बताए ।

प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताए । गठबन्धनको आवश्यकता र महत्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडी बढ्नुपर्नेमा पार्टीको जोड रहेको उनको भनाइ छ । तर एमाले अध्यक्ष ओलीले भने एमसीसी पास गर्नका लागि आफ्नो दलको समर्थन भन्दा पनि पर्याप्त मत सरकारसँग रहेको बताएका छन् । उनले शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै एक सय ६५ भोट सरकारसँग छ ,एमसीसी पास गर्न कस्ले रोकेको छ भनि प्रतिप्रश्न गरे ।

ओलीले एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन, एमाले देश र जनताको हितभन्दा बाहिर गएर कहिलै निर्णय गर्दैन कसैका धाक धम्कीकापछि पनि लाग्दैन, देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न एमाले सक्षम रहेको बताए । यद्यपी, पछिल्लो राजनीतिक कोर्ष, नेताहरुबीचको भेटवार्ता र अभिव्यक्तिले एमसीसी पारित हुनसक्ने आधारहरु देखा परेका छन् । सोमबार संसदबाट एमसीसी पारित हुने सम्भावना बढेर गएको छ । फागुन १६ गतेसम्म एमसीसी पारित गर्न अमेरिकाले नेपाल सरकारलाई भनेकाले सोही दिन एमसीसी पारित गरेर ढुक्क भएर बस्ने योजना देउवाको छ ।

किनकी प्रचण्ड र माधव नेपाल पनि सत्ता छाड्नु भन्दा संसदीय प्रक्रियामा गइसकेपछि मत दिने समयमा संसद बहिस्कार गरी बाहिरिँदा पनि उपस्थितको सामान्य बहुमतले एमसीसी पारित हुनेतर्फ केन्द्रीत भएका छन् । तर माओवादी केन्द्रका नेताहरु भने एमसीसीको विरोध गर्ने भनेपछि सडकदेखि सदनसम्मै गर्ने बताइरहेका छन् । जसका कारण माओवादीको भावी राजनीतिमा जटिलताहरु देखिन सक्ने आंकलन गरिएको छ ।