एमाले पुरानै अडानमा, एमसीसीबारे सहमति जुटाउन कांग्रेस असफल - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

एमाले पुरानै अडानमा, एमसीसीबारे सहमति जुटाउन कांग्रेस असफल


काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको छलफल निष्कर्षविहीन बनेको छ । शनिबार बालकोटमा भएको दुई दलका शीर्ष नेताहरूको छलफलमा नेताहरू आ–आफ्नै अडानमा कायम भएपछि निष्कर्षविहीन बनेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

छलफल कायमै राख्ने सहमति भएको बताउँदै मन्त्री कार्कीले सञ्चारकर्मीलाई सकारात्मक समाचार सुनाउने चाहना हुँदाहुँदै पूरा नभएको बताए ,

‘तपाईंहरुलाई सकारात्मक समाचार सुनाउँला भन्ने थियो,’ सञ्चारकर्मीमाझ भने, ‘तर, आज पनि पुरानै कुरा दोहोर्याउन पर्ने भयो, संसद खुलाउन उहाँहरु सकारात्मक हुनुभएन ।’ एमालेले सभामुख हटाउनुपर्ने, आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदहरुलाई पदमुक्त गर्नुपर्ने अडान कायम राख्दै आएको छ । एमालेले आफ्ना माग पूरा नभएसम्म संसद नखोल्ने बताउँदै आएको छ ।

एमालेसँगको छलफलमा सञ्चारमन्त्री कार्कीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए । अमेरिकाले एमसीसी बारे निर्णय दिन सोमबारसम्मको समयसीमा दिएको अवस्था नेपाली कांग्रेसले यसलाई अनुमोदन गर्नका लागि सत्तापक्ष र प्रतिपक्षसँगको संवादलाई तीव्रता दिइरहेको छ ।
दलहरुबीच सहमति नबनेपनि प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । संसद सचिवालयले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई सम्भावित कार्यसूचीमा राखेर कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी सम्झौताको विषयमा सामान्य छलफल हुनेछ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

बिहीबार र शुक्रबारको बैठक दलहरुबीच सहमति नबन्दा स्थगित भएको थियो । आइतबारको बैठकमा भने छलफल गरेर सोमबारसम्म एमसीसी पारित गर्ने सरकारको योजना रहेको छ ।

सत्ताधारी घटकहरु भने एमसीसी पारित गर्नका लागि एकजुट हुन सकेका छैनन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसलाई धोका दिएको विश्लेषण गरिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले उनीहरुबाट विश्वस्त हुन नसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि सहकार्य खोजिरहेका छन् ।