एमसीसीबारे सदनमा आएर झुट नबोलौं : गगन थापा - रुपान्तरण
 २०८१ बैशाख ३१, सोमबार    

एमसीसीबारे सदनमा आएर झुट नबोलौं : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग सम्झौता (एमसीसी)नेपालको संविधानभन्दा माथि नभएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसद थापाले एमसीसी नेपालको संविधान भन्दा माथि छ भनेर हावा कुरा नगर्न पनि राजनीतिक दलका नेताहरुलाई आग्रह गरे ।

उनले एमसीसी पनि विगतमा नेपालले अरु सम्झौता गरेजस्तै सम्झौता रहेको भन्दै नेपालको कानुनसँग सम्झौतामा भएको कुरा बाझिएमा त्यो लागू हुन नसक्ने उल्लेख गरे ।

उनले प्रमुख प्रतिपक्ष दल एमालेलाईसमेत समावेश गरेर अगाडि बढोस् भन्ने चाहना कांग्रेसको भए पनि नारा लगाएर बसेकाले पूरा हुन नसकेको बताए । उनले नेपालसँग आन्तरिक खर्चबाट साधारण खर्चसमेत धान्न सक्ने अवस्था नभएको भन्दै राष्ट्रिय आवश्यकता पूरा गर्न बाह्य सहयोग जरुरी रहेको बताए ।

उनले झलनाथ खनाल प्रधानमन्त्री हुँदा उपप्रधान एवं अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई अमेरिका पठाएर पहिलो पटक नेपाललाई एमसीसीमा राखिदिन आग्रह गरेको विगत सुनाउँदै भने, ‘त्यसपछाडि स्वर्गीय सुशील कोइराला बाहेक यो हलभित्र रहेको कुनै पनि राजनीतिक दल कोही बाँकी छैन कुनै प्रधानमन्त्री बाँकी हुनुहुन्न । त्यतिमात्र हैन मन्त्रिमण्डलमा एकपटक नाम पल्टाएर हेरौं तत् तत् बेलाको सरकारमा अगाडि बस्ने एक जना सांसद पनि बाँकी हुनुहुन्न ।’

अहिले रोष्ट्रममा आएर पूर्ववर्ती प्रधानमन्त्री एवं मन्त्रीहरुले झुट नबोल्न समेत आग्रह गरे । एमसीसीको विरोध गर्ने सांसदहरुलाई चेतावनी दिँदै थापाले भने, ‘आज राष्ट्रघाती भन्दै गर्दा पहिला औंला आफूतिर फर्काउनु होस् हामी आफैले बनाएको हैन ? हामी आफैले लेखेको हैन ? यहाँसम्म डोहोर्याएर ल्याएको हैन ?’