एमालेका कारण सहमति जुटेन तर मुलुक दुर्घटनाबाट जोगियो - रुपान्तरण
 २०८१ बैशाख ३१, सोमबार    

एमालेका कारण सहमति जुटेन तर मुलुक दुर्घटनाबाट जोगियो


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको प्रतिक्रिया दिएका छन् । निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन् ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन हुनुले व्याख्यात्मक घोषणाले पनि कानूनी मान्यता प्राप्त गरेको अध्यक्ष दाहालले बताए । १२ बूँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएपश्चात नेपाली समाज विभाजन हुनबाट पनि बचेको उनले उल्लेख गरे । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीतिदेखि कानून र सुरक्षा प्रणालीप्रति नेपालीहरुको अडानपनि स्थापित भएको उनले बताए ।

अध्यक्ष दाहालले एमसीसीको विषयमा राष्ट्रिय सहमती जुटाउनका लागि आफूले पटक–पटक प्रयास गरेको भएपनि सफल हुन नसकेको बताए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का कारण एमसीसीमा राष्ट्रिय सहमती कायम गर्न नसकिएको उनले आरोप लगाए । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट निवासमै गएर सघाउन आग्रह गरेपनि सभामुखको राजीनामा र एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त नभइकन सघाउन नसक्ने वचन दिएका कारण सहमती जुट्न नसकेको उनले उल्लेख गरे ।

उनले एमसीसीको विषय ठिक ढंगले समाधान गर्न नसकेको भए शान्ति सम्झौता समेत दुर्घटनामा पर्ने खतरा रहेको औंल्याए । गठबन्धन भत्किने मात्रै नभइ राजनीतिक परिवर्तन समेत उल्टिने खतराको चित्र आफूले देखेका कारण एमसीसी अनुमोदन गर्ने ठाउँमा पुगिएको अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले माओवादी केन्द्र सडक आन्दोलनमा जानुको उपलब्धि नै व्याख्यात्मक घोषणा गर्न सकिएको जिकिर गरे । माओवादीको आन्दोलनका कारण अमेरिका र सत्तारुढ नेपाली कांग्रेस पनि व्याख्यात्मक घोषणाका लागि सकारात्मक भएको उनले दाबी गरे । नेपाली जनताले देखाएको पहलकदमीका कारण पनि समस्या समाधानमा सहयोग पुगेको उनले बताए ।

अध्यक्ष दाहालले एमसीसी अनुमोदनको विषयलाई लिएर पार्टीभित्र विमती रहेको स्वीकार गरे । पार्टीका नेता नारायणकाजी श्रेष्ठ एमसीसी अनुमोदनको विपक्षमा रहेको भन्दै दाहालले असन्तुष्टि बाहिर नराखी केन्द्रीय कमिटी बैठकमा राख्न आफूले अनुरोध गरेपनि बाहिर कुरा राखेकोमा असन्तुष्टि व्यक्त गरे । एमसीसीको विपक्षमा अभिव्यक्ति दिदैँ आएका नेता देव गुरुङ भने पार्टीको निर्णय कार्यान्वयनमै सक्रियतापूर्वक लाग्नुभएको उनले बताए ।