शेष घलेको नयाँ निर्णयसँगै एनआरएनए फुटको अवस्थामा - रुपान्तरण
 २०७९ आश्विन १५, शनिबार    

शेष घलेको नयाँ निर्णयसँगै एनआरएनए फुटको अवस्थामा


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजनको दिशामा अघि बढेको छ । प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेसँगै संस्था फुटको अवस्थामा पुगेको हो । गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्।

गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए ।

निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया),अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन्।

प्रमुख संरक्षक शेष घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहेका छन्। आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन्।

दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख ९चैत्र ८ देखि ११ ० सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ। गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसके पछि आइसीसीले प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो। उच्चस्तरीय समितिले झन्डै २,६०० मतदाताहरु रहेको सूची तयार गरेको छ। सोही सूचीको आधारमा निर्वाचन गराइने जनाइएको छ।

प्रमुख संरक्षक घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौँ आउन आग्रह गरेका छन्। उनले संस्था जोगाउन र एकजुट पार्न विधानले दिएको अधिकार प्रयोग गरी आफुले उक्त निर्णय गरेको बताए। उनले नेपाल सरकारसंग सहकार्य गरी सभ्य र भव्य रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन्।

विदेशमा रहेका नेपालीहरुको साझा संस्थाका रुपमा रहेको एनआरएनए दुई दशक यता फुटको अवस्थामा पुगेको हो । राजनीतिक कित्ताकाट र संस्थापन पक्षको एकलौटी निर्णयका कारण संस्था गम्भीर मोडमा पुगेको अभियन्ताहरुले बताएका छन् । संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेको छ भने त्यसका लागि शुक्रबार साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको थियो । तोकिएको समयमा उम्मेदवारी दिनेमा अधिकांश अध्यक्ष कुमार पन्त समूहका उम्मेदवार रहेका छन् भने अर्का अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले बहिष्कार गरेको छ ।

संघमा देखिएको डेलिगेट्स विवाद समाधान नगरिकनै निर्वाचन कार्यक्रम अगाडि बढाइएपछि थप विवाद चर्किन पुगेको थियो । उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दा राख्दै अध्यक्ष पन्तले पठाएको ३६ सय बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएपछि थप विवाद भएको थियो ।