१४ सांसदविरुद्धको रिट : चैत २० गते पूर्ण सुनुवाइ - रुपान्तरण
 २०८१ बैशाख ३०, आईतबार    

१४ सांसदविरुद्धको रिट : चैत २० गते पूर्ण सुनुवाइ


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि, विधानविपरीत काम गरेको भन्दै १४ जना सांसदमाथि कारबाहीको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो ।

अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको अदालतले जनाएको छ । आदेश अनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुने छ ।

१४ सांसदमाथिको मुद्दा अन्तरिम आदेश माग भएको थियो । अहिले सबै प्रतिवादीहरुको लिखित जवाफ पसिकेको हुनाले अन्तरिममा बोलिरहन परेन यसर्थ, पूर्ण सुनुवाइमा हुने आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए ।

अब यो प्रक्रिया नियमानुसार अदालतको आन्तरिक सफ्टवेयरको प्रक्रिया अनुरुप अघि बढ्नेछ । ‘साप्ताहिक सूचना र पेशीमा प्रकाशित भएपछि यसको मिति चढ्छ । कहिले, कुन बार कुन मुद्दा चढ्छ भन्ने कुराले पनि यो निर्धारण गर्ने उनी बताउँछन् ।