निर्वाचन अरुका लागि निर्वाचन, आफूहरुका लागि लडाइँ - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

निर्वाचन अरुका लागि निर्वाचन, आफूहरुका लागि लडाइँ


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचन माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताएका छन् ।

देशमा आफूहरूले लडेर ल्याएको उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले अहिलेको निर्वाचन अरुका लागि निर्वाचन मात्रै भए पनि आफूहरूको लागि लडाइँ भएको बताए ।

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल वा विफल पार्ने लडाइँ भएको बताए ।

अझै पनि अवसरवादी र प्रतिक्रियावादीहरूले माओवादी जनयुद्धको परिवर्तनलाई उल्टाउने षडयन्त्र गरिरहेको उनको भनाइ थियो ।माओवादीले हारे गणतन्त्र र सयौं वर्षदेखिको अत्याचारमा राखिएको वर्ग समुदायको हक अधिकार खोसिने अध्यक्ष दाहालले जिकिर गरे ।

त्यस्तै भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गर्दै उनले देशमा कुनै अफ्ठ्यारो पर्‍यो भने जसरीतसरी बचाउने भारी बोकेर बसिरहेको अनुभूति हुने गरेको पनि बताए।

‘म माओवादी केन्द्रको अध्यक्ष छु। दुई पटक देशको प्रधानमन्त्री भएँ। तर मलाई माओवादी केन्द्रको अध्यक्षजस्तो मात्रै लाग्दैन अचेल। सिंगै राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ जस्तो लाग्छ,’ उनले भने, ‘देशमा संकट आयो, देशमा जस्तो हुन्छ, त्यो संकटबाट टार्नुपर्ने हुन्छ।’