स्वाभिमानको झण्डामुनीको ८ मार्च - रुपान्तरण
 २०७८ बैशाख ५, आईतबार    

स्वाभिमानको झण्डामुनीको ८ मार्च


-जानुका धमला

मातृसत्तात्मक व्यवस्था र पितृसत्तात्मक व्यवस्थाको चर्चा विद्यालयका पुस्तकमा पढिएको हो । मुख्यगरी इतिहासमा समाज व्यवस्था पढ्दा कहीं कतै ती व्यवस्थाबारे सुनिए पनि त्यसले हाम्रो सामाजिक व्यवहारमा फरक पारेन । महिला हक, महिला अधिकार, समान अधिकार, लैंगिक अधिकार, लैंगिक समानता, महिला शसक्तीकरण, नारी मुक्ति, योग्यता र प्रतिभाका आधारमा महिलालाई स्थान र अवसर आदिइत्यादि आदर्श, सिद्धान्त र पदावलीहरु परिवर्तनकारी यात्राको बाटोमा होमिने बेलासम्म गम्भीर विषय हो भन्ने नै लागेन ।

८ मार्च र महिला दिवस किन मनाइन्छन् ? महिला दिवसको औचित्य के हो ? महिला अधिकारको सवाल कहाँबाट कहाँसम्म जोडिएको छ ? महिला मुक्ति सम्भव छ ? हामी सबैखाले दासताबाट मुक्त त हुन्छौं ? यस्ता सवालहरु परिवर्तनकारी मोर्चामा सामेल नहुँदासम्म मेरा लागि प्रमुख विषय हो भन्ने नै लागेन । त्यसैले अन्तर्राष्ट्रिय महिला दिवसलाई सामाजिक राजनीतिक कार्यक्रमको रुपमा मैले कहिले मनाएँ भनेर सम्झँदा त्यो ९१ औं अन्तर्राष्ट्रिय महिला दिवसबाट औपचारिक हुने रहेछ ।

दुर दराजनको वस्तिबाट महिलाहरु पनि सामाजिन आर्थिक र राजनैतिक उन्मुक्ति पाइन्छ भनेर नै जनयुद्धमा सहभागि भएका थिए तेही क्रममा थियो मेरो पनि आफुले बुझेर मनाइएको महिला दिवस थियो ९१औ नारी दिवस । देश स्पष्ट दुईवटा सत्तामा विभाजित थियो । दुबै सत्ता शस्त्र र अस्त्रको होडमा थिए । कम्मरमा ग्रिनेड र काँधमा बन्दूक बोकेको छापामारको हैसियतमा मनाएको महिला दिवस । त्यतिबेलादेखि मलाई ८ मार्च खास लाग्न थालेको हो ।

पछिल्लो दुई दशक महिला मुक्तिको यात्रामा, महिला अधिकारको यात्रामा, समानताको लडाईमा सुनिने गरी परिवर्तन भएका छन्, देखिने गरी परिवर्तन भएका छन् । तर त्यो परिवर्तनको मौलिकता क्रान्तिको यात्रामा छँदा बुनेका सपनाभन्दा धेरै मानेमा कुरुप कुरुप लाग्छ, विरुप विरुप लाग्छ । मुक्ति, अधिकार, समानता र स्वतन्त्रता मुठ्ठीभरका समूहहरुको भागबण्डामा सीमित हुँदा हामीले देखेका सपना त्यही भुईमै लडिरहेको‘छटपटाइरहेको जस्तो लाग्ने रहेछ ।

मैंले पनि धेरैपटक मेरा सहयोद्धाहरुलाई हौस्याउँदै भनेको थिएँ, यस्तो सपना देख जुन कहिल्यै सपना नहोस् । यस्तो लडाई लडौं जसका लागि हामी फेरि लड्न नपरोस् । आज फेरि म १११औं महिला दिवस मनाउँदै गर्दा म कहिले कहीं कहिल्यै पूरा नभएका मुक्तिका सपनामा टहलिन्छु । लडाई लड्दालड्दा फेरि उठ्नै नसक्ने गरी लडेको लडाइमा घोत्लिन्छु । बिद्रोहको मुठ्ठीमा कैद महिला हक, अधिकार र समानता कसले कसरी खोसेर पुनः कब्जामा लियो भनेर घोत्लिन्छु ।

२० वर्षअघि अन्तर्रास्ट्रिय महिला दिवस मनाइरहँदा मनमा अनेक भावना सल्बलाएका थिए । के साँच्चै म पनि उत्पीडनमा परेका महिलालाई न्याय दिलाउन उनीहरुको नेतृत्व गर्न सक्छु ? मैले आफैंसँग यो प्रश्न गरेको थिएँ । संसारका उत्पीडित महिलाका लागि जसरि मार्च ८ निर्माण भयो त्यसलाई नेपालमा गति दिने जिम्मेवारी हाम्रो पनि हो भन्ने लाग्यो । सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिकलगायतका क्षेत्रमा विद्यमान विभेदको, असमानताको, अन्यायको, हिंसाको पर्खाल नेपाली महिलाले ढाल्नेछन् र त्यसको नेतृत्व जनयुद्धकारी महिलाले नै गर्ने हैसियत राख्छन् भन्ने लाग्थ्यो । त्यतिबेलाको सपना अहिले केलाउँदा रुमानी नै ठहर सही तर, हामीले लडेको लडाईको सबैखाले मोर्चाले लिएको लक्ष्य त्यही हुन्थ्यो जस्तो लाग्थ्यो ।

हामी सगरमाथाको देश नेपालबाट यही सन्देश संसारमा दिन चाहन्छौ भनेर हामीले धेरैपटक त्यही भाषण गरेका हौं । मैले अग्रह योद्धाहरुबाट पनि त्यही सुनें । मैले सहयोद्धाहरुसँग पनि त्यही विचार र भावना आदानप्रदान गरें । हामीले मनाउने उत्सव वा विजय उत्पीडित महिलाका लागि पनि उत्सव बनोस् भन्ने पवित्र कामना हुन्थ्यो महिला दिवस मनाउँदै गर्दा ।

हामी सहयोद्धाहरुको बिचमा विश्व, महिला आन्दोलन, महिला मुक्ति, बर्गीय मुक्ति भन्दै लामालामा कुरा गथ्र्यौं । त्यतिबेला मनाइने अन्तर्राष्ट्रिय महिला दिवसमा शान्तिको लागि महिला शसक्तीकरणका नारा हुन्थ्यो । व्यवस्था फेरियो अवस्था फेरिन नसक्नुको कारणले त्यो बेलाको भाषण पनि कुरुप विरुप लाग्छ ।

विरोधको लागि तयार महिला भन्ने नारा हुन्थ्यो । त्यसपछि अफगानी महिलाका विषयमा लैंगिक समानताका विषयमा, महिलाका लागि सुरक्षित भविश्य निर्माणको विषयमा रहेर महिला दिवस मनाइयो । कहिले नारा लगाइयो, कहिले नारा लगाउन लगाइयो । सँगै यी नारा लगाउने समवयी सहयोद्धाहरुलाई चिहान छोडेर आउदाको पिडाले अहिले पनि घर गर्छ मनमा तर जसको मनमा गर्न पर्र्ने उनीहरुलाई नगरेपछि के गर्नु ।

नेपाली महिला बर्गलाई राजनीतिमा, विद्रोहमा, युद्धमा एकाकार गराउने त्यो युगीन मोर्चाको जिउँदो साक्षी हुन पाउँदा मैले धेरैपटक आफैंसँग गर्व गरेकी छु । राजनैतिक संगठनमा होस वा सैन्य संगठनमा जनयुद्धमा महिलाको उपस्थिति देखेर संसारले अहो भनेर जिब्रो टोकेकै हो । फेरि पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मलाई विद्रोहको त्यो शिराबाट महिला मुक्ति र आन्दोलनका पूर्वदृष्य सम्झना हुन्छ । यसलै यो विषय दिनमा म पनि हामीले कहाँनेर हामीले महिला अधिकार भेट्यौं र कहाँनेर हामी छुट्यौं भनेर सम्झने प्रयास गरिरहेको हुन्छु । समाजलाई बदल्न महिला संगठन र महिला मोर्चा भन्दै हिंडेका दिन र रातहरु सम्झन्छु ।

यही बाटोले नै फासिवादी सामाजिक सत्ता पनि ढालिन्छ र पुरुषवादी सत्ताको चरित्र पनि फेर्न सकिन्छ भन्ने थियो । कसैले रोजा पढाए, कसैले क्ला जेट्किन पढाए, कसैले चिनियाँ क्रान्ति पढाए, कसैले रुसी क्रान्ति पढाए । जजसले पढाए विद्रोहमा तातिरहेको रगत उम्लने गरी पढाए । आजको दिनलाई चटक्क बिर्सेर हिजोका दिनमा यात्रा गर्दा पैदा हुने यो रोमाञ्चकता आफैंमा गौरवशाली लाग्छ । मलाई निजी खुसी प्यारो कि सार्वजनिक न्याय ? जनयुद्धका मोर्चाहरुमा कहिले सिपाही त कहिले कमाण्डर भएर हिंड्दा सार्वजनिक न्याय, महिला न्याय र महिला मुक्तिबारे आफैमा पनि कहिल्यै शंका गरिएन । मेरो लागि नीजि खुशी कहिल्यै प्यारो भएन ।

शक्तिखोर छिरेपछि महिला दिवसकै सन्दर्भमा चितवन बसाइको एउटा उत्सव सम्झन्छु । हामीले शिविरमै धुमधामसँग ८ मार्च मनायौं । अहिले थाहा हुदै छ त्यो दुःखले प्राप्त गरेको उपलब्धि त आमजनता र दुःख गर्ने कार्यकर्ताका लागि होइन रहेछ सीमित नेता कमाण्डर अवसरवादीहरुको लाई मात्रै रहेछ । महिला विद्रोहीको रुपमा, महिला छापामारको रुपमा, महिला कमाण्डरको रुपमा, जनयुद्धको महिला क्रान्तिकारी लडाकूको रुपमा के पाएँ वा के गुमाएँ त्यसमा किञ्चित दुःख छैन । तर त्यो कष्टकारी यात्राबाट देश र जनताले के के पाए भन्ने विषय दिमागमा सधैं प्राथमिकतामा रहने रहेछ ।

यी दिवसहरु मनाउँदै गर्दा म हिजोका हाम्रा नेतृत्वहरुलाई आजको तराजुमा राखेर हेर्ने प्रयास गर्छु । हिजोका सिद्धान्त आदर्श र आजको जीवनशैली ब्यवहारमा नमिलेको सन्तुलन हेर्छु । के गर्छु भनेर हिजो लडे लडाए र आज के गरे ? हिजो राज्यसत्ताबाहेक सबै भ्रम हो भन्ने नेताहरुले आज सत्तामा बसेर मनाइरहेको तामाम खुशी नयाँ बर्गउत्थानको नयाँ उदाहरणभन्दा केही पनि होइन भन्ने मेरो ठहर हो । निसन्देह हो नै रहेछ, उनीहरुलाई राज्य र सत्ता नै सर्वथोक रहेछ । यसैले यो पाली पनि म स्वाभिमानको झण्डामुनी स्वतन्त्रतापूर्व १११औं अन्तर्राष्ट्रि महिला दिवस मनाउछु ।